काठमाडौँ । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त भएका छन्। उनले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन।
मन्त्री मेहताको स्वकीय सचिवालयका अनुसार अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि डा. आलमलाई परिषद्को नेतृत्वको जिम्मेवारी दिइएको हो।
शपथग्रहणपछि मन्त्री मेहताले परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न आग्रह गरे। उनले औषधि सेवाको गुणस्तर सुधार, फार्मेसी शिक्षाको सुदृढीकरण, पेसागत नियमनलाई प्रभावकारी बनाउने तथा जनविश्वास अभिवृद्धिमा परिषद्ले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
सरकारले फार्मेसी क्षेत्रको नियमन र सेवा प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ परिषद्को नेतृत्वमा नयाँ जिम्मेवारी दिएको जनाएको छ।