काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा भर्नाका लागि सञ्चालन हुने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर लेभल (MECEE–BL २०२७) को अनलाइन आवेदन खुला गर्ने भएको छ।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएमएस, बीपीएच, बीफार्म, बीएससी मेडिकल ल्याबोरेटरी टेक्नोलोजी (MLT), बीपीटी, बी अप्टोमेट्री लगायत स्वास्थ्य शिक्षाका स्नातक तहका कार्यक्रममा अध्ययन गर्न इच्छुक उम्मेदवारले एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिन सक्नेछन्।
अनलाइन आवेदन साउन २५ गते बिहान ९ बजेदेखि खुल्नेछ। नियमित शुल्कसहित भदौ १५ गते साँझ ५ बजेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ। तोकिएको समयभित्र आवेदन दिन नसकेका उम्मेदवारले भदौ २२ गते साँझ ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आयोगका अनुसार नेपाली उम्मेदवारका लागि आवेदन शुल्क ४ हजार रुपैयाँ र विदेशी उम्मेदवारका लागि ८ हजार रुपैयाँ तोकिएको छ। आवेदन शुल्क हिमालय बैंक मार्फत जम्मा गर्नुपर्नेछ। आवेदन दिनुअघि उम्मेदवारले आयोगले निर्धारण गरेको शैक्षिक योग्यता, आवश्यक कागजात तथा अन्य मापदण्ड पूरा गरेको हुनुपर्ने आयोगले स्पष्ट पारेको छ।
आवेदन फारम भर्ने प्रक्रिया, प्रवेश परीक्षा सम्बन्धी निर्देशिका तथा थप जानकारी चिकित्सा शिक्षा आयोगको आधिकारिक वेबसाइट र प्रवेश परीक्षा पोर्टल मार्फत प्राप्त गर्न सकिने आयोगले जनाएको छ। स्वास्थ्य शिक्षामा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो एकीकृत प्रवेश परीक्षा अनिवार्य भएकाले आयोगले तोकिएको समयभित्र आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।