काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ कार्डियाक एनेस्थेसियोलोजिस्ट प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।
नवनियुक्त निर्देशक अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। प्रा. डा. अमात्य लामो समयदेखि गंगालाल हृदय केन्द्रमा कार्यरत रहँदै कार्डियाक एनेस्थेसिया सेवामा विशेषज्ञ योगदान दिँदै आएका चिकित्सक हुन्। उनले मलेसियाबाट कार्डियाक एनेस्थेसियामा एक वर्षे फेलोसिपसमेत पूरा गरेका छन्।
उनी नेपालका अनुभवी कार्डियाक एनेस्थेसिया विशेषज्ञमध्ये एक मानिन्छन्। गंगालाल हृदय केन्द्रमा एनेस्थेसिया सेवाको विस्तार, दक्ष जनशक्ति उत्पादन तथा जटिल मुटु शल्यक्रियालाई सुरक्षित र प्रभावकारी बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
स्वास्थ्य मन्त्रालयले नयाँ नेतृत्वसँगै केन्द्रको सेवा प्रवाह, विशेषज्ञ उपचार तथा संस्थागत व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरेको छ।