म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा डायलिसिस सेवा विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा थप तीन वटा डायलिसिस मेसिन उपलब्ध भएपछि सेवा विस्तार गरिएको हो ।
विसं २०७७ साउन २५ गते पाँच वटा मेसिनबाट सुरु भएको सेवा अहिले नौ वटा मेसिनबाट सञ्चालन भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा. हेमन्त बाँस्तोलाका अनुसार दैनिक ४५ जनासम्मलाई डायलिसिस सेवा दिन सकिने अवस्था बनेको छ ।
हाल ४० जना मृगौला रोगीले बेनी अस्पतालबाट नियमित डायलिसिस सेवा लिइरहेका छन् । प्रतीक्षा सूचीमा रहेका थप १० जना बिरामीलाई समेत बेनीमै सेवा उपलब्ध गराउन अस्पतालले सम्पर्क गरिरहेको जनाएको छ ।
सेवा विस्तारसँगै म्याग्दीका मृगौला रोगीलाई डायलिसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता कम भएको छ । यसबाट बिरामीको समय, यात्रा खर्च र उपचारका क्रममा हुने झन्झट घटेको बिरामीहरूले बताएका छन् ।
यसअघि प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको साँघुरो कोठाबाट सञ्चालन हुँदै आएको डायलिसिस सेवा अहिले अस्पतालको फराकिलो भवनमा सारिएको छ । नयाँ कक्षमा सेवा लिन सहज भएको बिरामीहरूको भनाइ छ । अस्पतालमा सङ्घीय सरकारबाट प्राप्त दुईमध्ये एउटा डायलिसिस मेसिन बिग्रिएको छ भने दुई वटा मेसिन जगेडामा राखिएका छन् ।
डायलिसिस सेवा थप प्रभावकारी बनाउन थप स्वास्थ्यकर्मीलाई तालिम, निर्माणाधीन भवनलाई पूर्णता तथा मृगौला रोगीलाई स्वास्थ्य बिमामार्फत नियमित उपचारमा सहज पहुँचको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।