विराटनगर । कोशी अस्पतालको नयाँ भवन निर्माण समयमा सम्पन्न हुन नसक्दा अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ ।
३५० शय्याको स्वीकृति पाएको अस्पतालले ठाउँ अभावका कारण हाल ३०० शय्याबाट सेवा दिइरहेको अस्पतालका प्रमुख डा। चन्द्रभाल झाले जानकारी दिए । अस्पतालको ओपीडीमा दैनिक करिब दुई हजार बिरामी आउने गरेका छन् ।
अस्पतालमा निर्माणाधीन दुई भवन सम्पन्न भएपछि शय्या क्षमता ७५० पुग्ने र सेवा विस्तारमा सहज हुने डा। झाले बताए ।
पहिलो भवन निर्माणको ठेक्का २०७८ असार ३० गते ३८ करोड ८७ लाख रुपैयाँमा दिइएको थियो । निर्माण कम्पनीले बीचमै काम छाडेपछि ढिलाइ भएको अस्पतालले जनाएको छ । हाल रमन कन्स्ट्रक्सनले निर्माण अघि बढाइरहेको छ । उक्त भवनको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत छ ।
त्यस्तै, दोस्रो भवन दुई अर्ब १७ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ । यसको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत पुगेको अस्पतालले जनाएको छ । भवन निर्माणमा भइरहेको ढिलाइले साँघुरो संरचनामा बिरामीको चाप व्यवस्थापन गर्न अस्पताललाई चुनौती थपिएको छ ।