महेन्द्रनगर। मिर्गौला रोगीको चाप बढेपछि कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले रातिको सिफ्टसमेत थपेर दैनिक तीन सिफ्टमा डायलाइसिस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
अस्पतालमा अहिले १० वटा बेडबाट बिहान र बेलुकी गरी दुई सिफ्टमा डायलाइसिस सेवा दिइँदै आएको छ। अस्पतालका अनुसार दैनिक २० देखि २५ जना बिरामी डायलाइसिसका लागि आउने गरेकामा १८–१९ जनाले मात्र नियमित सेवा पाउने अवस्था छ।
अस्पतालका प्रवक्ता डा। अर्जुन भट्टका अनुसार बिरामीको चापअनुसार सेवा विस्तार गर्न थप जनशक्ति, बेड र उपकरण व्यवस्थापनका लागि माथिल्लो निकायसँग छलफल भइरहेको छ।
डायलाइसिस सेवामा कार्यरत यशोदा गिरीका अनुसार रातिको सिफ्ट सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनको काम अघि बढाइएको छ। सेवा विस्तार हुन नसक्दा केही बिरामी धनगढीलगायत अन्य स्थानमा जानुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ।
अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदले रातिको सिफ्ट सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिएको बताए। महाकाली प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा २०७९ चैतदेखि सुरु भएको थियो। सेवा सुरु भएयता बिरामीको चाप बढ्दै जाँदा नियमित डायलाइसिसका लागि पर्याप्त जनशक्ति र पूर्वाधार व्यवस्थापन चुनौती बनेको छ।