झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ। पछिल्लो पटक मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जेई संक्रमितको संख्या १० पुगेको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई पुष्टि भएको छ।
संक्रमित १० जनामध्ये दुई जना उपचाररत छन् भने तीन जना उपचारपछि डिस्चार्ज भएका छन्। संक्रमितमध्ये सात महिनाका एक बालकसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।
जेई क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमण भएपछि यसले मस्तिष्कमा असर गर्न सक्छ। नेपालमा मनसुनका बेला जेईको जोखिम बढ्ने गरेको छ। पछिल्लो अध्ययनले जेईको जोखिम बालबालिकामा मात्र सीमित नभई खोप नलिएका संवेदनशील वयस्कमा समेत बढिरहेको देखाएको छ।
स्वास्थ्यकर्मीका अनुसार जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु महत्वपूर्ण हुन्छ। वर्षायाममा घरवरिपरि पानी जम्न नदिने, झुलको प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने तथा लामखुट्टेको प्रजननस्थल नष्ट गर्न ध्यान दिनुपर्ने जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए।
सरकारले जेईको उच्च जोखिममा रहेका ११ जिल्लामा खोप विस्तार गर्ने तयारी गरेको छ। ती जिल्लामा झापा पनि समावेश छ। स्वास्थ्य विज्ञहरूले खोप नलिएका जोखिममा रहेका व्यक्तिलाई जेईविरुद्धको खोप लगाउन सिफारिस गरेका छन्।