काभ्रेपलाञ्चोक । समुदायस्तरमै पुगेर क्षयरोग (टिबी) पहिचान गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले सञ्चालन गरेको स्क्रिनिङ अभियानबाट तीन जनामा सक्रिय क्षयरोग पुष्टि भएको छ। नगर स्वास्थ्य शाखाको आयोजना तथा जन्त्र नेपालको प्राविधिक सहयोगमा वडा नं १० र १२ मा सञ्चालित स्वास्थ्य परीक्षण तथा टिबी स्क्रिनिङबाट तीन बिरामी पहिचान भएका हुन्।
मण्डनदेउपुर–१० स्थित चण्डेनीमण्डन स्वास्थ्यचौकीमा गरिएको स्क्रिनिङमा १२४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा क्षयरोगको शङ्का लागेका १४ जनाको खकार नमूना सङ्कलन गरिएकामा दुई पुरुषमा सक्रिय क्षयरोग पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ।
त्यस्तै, वडा नं १२ स्थित ज्याम्दी स्वास्थ्यचौकीमा १२१ जनाको छातीको एक्स–रे परीक्षण गरिएको थियो। शङ्का लागेका थप छ जनाको खकार नमूना परीक्षण गर्दा एक जनामा क्षयरोग पुष्टि भएको थियो। पहिचान भएका बिरामीको उपचारसमेत सुरु गरिएको नगर स्वास्थ्य शाखाप्रमुख दीपक घिमिरेले जानकारी दिए।
नगरपालिकाका अनुसार दुई स्वास्थ्यचौकीमा गरिएको अभियानबाट २४५ जनाको परीक्षण, २० जनाको खकार नमूना सङ्कलन र तीन जनामा सक्रिय क्षयरोग पहिचान भएको छ। समुदायमै रोग पहिचान हुँदा बिरामीलाई समयमै उपचारको पहुँचमा ल्याउन सकिने भएकाले यस्ता स्क्रिनिङ कार्यक्रमलाई निरन्तरता दिने नगरले जनाएको छ।
स्वास्थ्यकर्मीका अनुसार दुई साताभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, खोकीसँगै रगत आउनु, ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्नु, भोक कम लाग्नु, छाती दुख्नु र शरीर कमजोर महसुस हुनु क्षयरोगका सम्भावित लक्षण हुन्। यस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा परीक्षण गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।