इटहरी । सुनसरी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले इटहरीमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको आयोजनामा एकदिने स्वास्थ्य सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सुनसरी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूलाई आधुनिक चिकित्सा प्रणाली, नयाँ प्रविधि तथा विभिन्न जटिल रोगका प्रारम्भिक लक्षण र उपचार विधिबारे जानकारी गराइएको थियो।
कार्यक्रममा हस्पिटलका वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा. पुरुषोत्तम पराजुली, कन्सल्टेन्ट जनरल सर्जन डा. प्रज्वल खतिवडा र कन्सल्टेन्ट ईएनटी सर्जन डा. आशिष राज बिष्टले विभिन्न स्वास्थ्य समस्याबारे प्रस्तुति दिएका थिए।
विशेषज्ञ चिकित्सकहरूले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्दा ध्यान दिनुपर्ने विषय, बिरामीका प्रारम्भिक लक्षण पहिचान, जटिल अवस्थाको समयमै पहिचान तथा आधुनिक उपचार प्रविधिबारे सहभागीलाई व्यावहारिक जानकारी प्रदान गरे।
कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सकबीच प्रत्यक्ष प्रश्नोत्तर तथा अन्तरक्रियासमेत भएको थियो। सहभागी स्वास्थ्यकर्मीहरूले स्थानीय तहमा सेवा प्रवाहका क्रममा देखिएका स्वास्थ्यसम्बन्धी जटिलता तथा आफ्ना जिज्ञासा राखेका थिए। ती जिज्ञासाको विशेषज्ञ चिकित्सकहरूले सरल र वैज्ञानिक ढंगबाट समाधान तथा सुझाव दिएका थिए।
हस्पिटल प्रशासनका अनुसार स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई थप दक्ष र सचेत बनाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनु हस्पिटलको प्राथमिकतामध्ये एक हो।
समुदायको स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनमा पनि सुनसरी तथा आसपासका क्षेत्रमा यस्ता स्वास्थ्य सचेतना, अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिइने हस्पिटल प्रशासनले जनाएको छ।