काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा आजदेखि स्वास्थ्य बिमा सेवा पुनः सुरु भएको छ । स्वास्थ्य बिमा बोर्डबाट पाउनुपर्ने भुक्तानी रोकिएपछि गत असार १५ गतेदेखि अस्पतालले बिमा सेवा पूर्णरूपमा स्थगित गरेको थियो ।
अस्पतालले स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा हाल बीमितका लागि बहिरङ्ग (ओपीडी) सेवा मार्फत बिमा सेवा सञ्चालनमा ल्याएको जनाएको छ । ओपीडीबाहेकका अन्य सेवा भने तत्काल स्वास्थ्य बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।
अस्पतालका अनुसार स्वास्थ्य बिमाबापत पाउनुपर्ने रु आठ करोड प्राप्त भएपछि सेवा पुनः सुरु गरिएको हो । स्वास्थ्य बिमा सेवा लिन आउने बीमितले स्वास्थ्य बिमा परिचयपत्रसहित आवश्यक कागजात पेस गरी तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ । अस्पताल आउनुअघि बीमितले आफूलाई पायक पर्ने प्रथम सेवा विन्दुबाट आवश्यक प्रेषण (रेफरल) लिनुपर्ने व्यवस्था गरिएको छ ।
अस्पतालले स्वास्थ्य बिमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन नहुने जनाएको छ । लामो समयदेखि बिमा सेवा रोकिँदा उपचारमा समस्या भोग्दै आएका बीमितलाई ओपीडी सेवा पुनः सञ्चालन भएपछि केही राहत हुने अपेक्षा गरिएको छ ।