बाँके । बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा घरमै सुत्केरी गराउने चलन घट्दै गएको छ। गाउँमै वर्थिङ सेन्टर, तालिमप्राप्त स्वास्थ्यकर्मी र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध भएपछि संस्थागत सुत्केरी बढेको हो।
गाउँपालिका स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विभिन्न वर्थिङ सेन्टरबाट १ हजार १५१ महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्। वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा प्रसूति सेवा सञ्चालनमा छ। गर्भवतीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन गाउँपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। जटिल अवस्था देखिएमा भेरी अस्पतालमा निःशुल्क रेफर तथा ल्याउने–लैजाने व्यवस्था समेत गरिएको छ।
स्वास्थ्यकर्मीका अनुसार केही वर्षअघि गर्भवतीलाई अन्तिम समयमा मात्रै स्वास्थ्य संस्थामा ल्याउने र घरमै सुत्केरी गराउने प्रवृत्ति बढी थियो। अहिले भने गर्भावस्थादेखि नै नियमित जाँच गराउने र वर्थिङ सेन्टरमै सुत्केरी गराउने क्रम बढेको छ।
नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार संस्थागत सुत्केरी बढ्नु सुरक्षित मातृत्वप्रतिको बढ्दो चेतना र स्थानीय सरकारको लगानीको प्रतिफल हो। निःशुल्क एम्बुलेन्स र जटिल अवस्थामा भेरी अस्पतालमा रेफर गर्ने व्यवस्थाले दुर्गम बस्तीका महिलालाई पनि सुरक्षित प्रसूति सेवा लिन सहज भएको छ।