मुगु । मुगुमा महिलामा आङ खस्ने (पाठेघर खस्ने) समस्या बढ्दै गएको पाइएको छ। कम उमेरमै गर्भधारण, पटक–पटक गर्भधारण, पोषणयुक्त खानाको कमी र सुत्केरीपछि पर्याप्त आराम नपाउँदा यस्तो समस्या बढेको स्वास्थ्यकर्मीले बताएका छन्।
जिल्ला अस्पताल मुगुका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका चारवटै स्थानीय तह र जिल्ला अस्पतालमा पाठेघरसम्बन्धी परीक्षण तथा उपचार गराएका महिलामध्ये १ हजार ६७ जनाले रिङ प्रेसरीमार्फत उपचार सेवा लिएका छन्। परीक्षण गरिएकामध्ये २७७ जनामा पाठेघरसम्बन्धी समस्या देखिएको छ।
समस्या देखिनेमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका ९४ जना छन्। स्वास्थ्यकर्मीका अनुसार ग्रामीण क्षेत्रका महिलाले लाज, सामाजिक डर र घरायसी कामको चापका कारण समस्या लुकाउने भएकाले वास्तविक संख्या अझ बढी हुनसक्छ।
जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. निर्मल शिवाकोटीका अनुसार किशोरी अवस्थामै आमा बन्ने, पटक–पटक गर्भधारण गर्ने र सुत्केरी भएको केही दिनमै खेतबारीको काममा खटिनुपर्ने अवस्थाले जोखिम बढाउँछ। समस्या भएका महिलालाई अस्पतालले रिङ प्रेसरीमार्फत उपचार गर्दै आएको छ। रिङ प्रयोग गर्ने महिलाले प्रत्येक तीन महिनामा स्वास्थ्य संस्थामा पुगेर रिङ निकालेर सफा गरी पुनः राख्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्।
स्वास्थ्यकर्मीले किशोरी अवस्थामा हुने विवाह तथा गर्भधारण न्यूनीकरण गर्नुका साथै गर्भवती र सुत्केरी महिलालाई पर्याप्त पोषण, आराम र समयमै स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। समस्या लुकाएर पीडा सहनुभन्दा समयमै स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन उनीहरूको सुझाव छ।