काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ प्रा. डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार उनलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्।
नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार मन्त्री मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनी हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्।
डा। पौडेलले यसअघि वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन्। उनी यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत थिए। त्यहाँ रहँदा अस्पताललाई शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका थिए।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस गरेका पौडेलले सोही संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस उत्तीर्ण गरेका छन्। उनी नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन्।
स्वास्थ्य सेवा सुधार, सरकारी अस्पतालको क्षमता अभिवृद्धि तथा चिकित्सा शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आएका डा. पौडेलले अब काउन्सिलको अध्यक्षका रूपमा चिकित्सकीय पेशाको नियमन, व्यावसायिक आचरण र चिकित्सा शिक्षासँग सम्बन्धित जिम्मेवारी सम्हाल्नेछन्।