काठमाडौँ । लामखुट्टेको सानो टोकाइबाट फैलिने रोगको जोखिम नेपालमा अझै चुनौतीका रूपमा रहेको छ। आज विश्व लामखुट्टे दिवस ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
लामखुट्टेबाट डेङ्गु, औँलो, जापानिज इन्सेफलाइटिस, चिकनगुनिया, कालाजार र हात्तीपाइलेलगायतका रोग सर्न सक्छन्। नेपालमा हालसम्म लामखुट्टेका १६८ प्रजाति पहिचान भएका छन्। पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो तापक्रम र वर्षाको स्वरूपमा आएको परिवर्तनले लामखुट्टेबाट सर्ने रोगको जोखिम नयाँ क्षेत्रमा समेत बढाउँदै गएको स्वास्थ्य विज्ञहरूले बताएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा डेङ्गु र जापानिज इन्सेफलाइटिसजस्ता रोगको जोखिम विशेषगरी वर्षायाममा बढ्छ। नेपालमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश छ।
लामखुट्टे नियन्त्रणका लागि घरवरपर पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने, फोहोर तथा प्रयोगविहीन टायर–डब्बा हटाउने र झुल तथा लामखुट्टे भगाउने उपाय अपनाउनु आवश्यक हुन्छ। नेपालमा डेङ्गु फैलाउने एडिस लामखुट्टे घरायसी पानी जम्ने भाँडाकुँडामा समेत प्रजनन गर्ने भएकाले यसको नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण छ।
स्वास्थ्य विज्ञहरूका अनुसार लामखुट्टेको टोकाइबाट बच्ने सावधानी नै कीटजन्य रोग नियन्त्रणको पहिलो उपाय हो।