विराटनगर । न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर र विराट व्यापार संघबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। सम्झौतासँगै संघमा आबद्ध उद्योगी–व्यवसायी, उनीहरूका आश्रित परिवार तथा संघअन्तर्गतका व्यवसायिक फर्ममा कार्यरत कर्मचारीले अस्पतालका विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्।
सम्झौताअनुसार अस्पतालका विभिन्न जाँच, सामान्य बेड शुल्क, एमआरआई, सीटी स्क्यान, एन्जियोग्राफी, शल्यक्रिया तथा अन्य उपचारात्मक सेवामा अधिकतम २५ प्रतिशतसम्म छुट उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनले सामाजिक उत्तरदायित्वअन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवालाई समुदायसम्म सहज रूपमा पुर्याउने उद्देश्यले सम्झौता गरिएको जनाएको छ। विराट व्यापार संघका पदाधिकारीले सम्झौताले संघका सदस्य, आश्रित परिवार र कर्मचारीलाई उपचारमा आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।
विराटनगरमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले विशेषगरी न्युरो तथा कार्डियोलोजीसम्बन्धी उपचारसहित विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।