विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले आफ्नो २६औँ वार्षिकोत्सवको अवसरमा ज्येष्ठ नागरिकलाई निःशुल्क ओपीडीसहित विभिन्न स्वास्थ्य छुट योजना सार्वजनिक गरेको छ।
हस्पिटलले भदौ ७ गतेदेखि १३ गतेसम्म ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपीडी परामर्श सेवा दिने जनाएको छ। सोही अवधिमा सम्पूर्ण ओपीडी जाँचमा २५ प्रतिशत छुटसमेत उपलब्ध गराइनेछ।
‘आशा, उपचार र मानवताको यात्रा’ भन्ने मूल भावसहित वार्षिकोत्सव मनाउन लागेको हस्पिटलले २६ वर्षसम्म साथ दिने सेवाग्राहीप्रति आभार व्यक्त गर्दै स्वास्थ्य सेवामा विशेष छुट योजना ल्याएको जनाएको छ।
वार्षिकोत्सवकै अवसरमा हस्पिटलले कर्मचारीबीच ‘न्यूरो युनिटी कप २०८३’ मैत्रीपूर्ण फुटसल प्रतियोगितासमेत आयोजना गर्ने भएको छ। चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीबीच आपसी एकता, भाइचारा र सकारात्मक ऊर्जा बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हस्पिटलले जनाएको छ।
विराटनगर–१०, जहदा रोडस्थित हस्पिटलले ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई वार्षिकोत्सवको अवसरमा उपलब्ध स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ।