चितवन । भरतपुर अस्पतालले बिरामीले प्रयोगशालाको रिपोर्ट अनलाइनबाटै हेर्न तथा प्रिन्ट गर्न सक्ने व्यवस्था सुरु गरेको छ।
अस्पतालको वेबसाइटमा रहेको ‘ल्याब रिपोर्ट’ विकल्पमा गएर बिलमा उल्लेख भएको युजरनेम र पासवर्ड प्रयोग गरी रिपोर्ट हेर्न सकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले जानकारी दिए।
त्यस्तै, अस्पतालमा जडान गरिएका दुईवटा भेन्डिङ मेसिनबाट ओपीडी टिकट र प्रयोगशाला रिपोर्ट लिन सकिने व्यवस्था गरिएको छ। यसले बिरामीलाई काउन्टरमा लामो समय लाइन बस्नुपर्ने बाध्यता हटाउने अस्पतालले जनाएको छ। भरतपुर अस्पतालमा दैनिक करिब ३ हजार ८०० बिरामी ओपीडी सेवाका लागि आउने गरेका छन्। ६२० शय्या सञ्चालनमा रहेको अस्पतालमा चितवनसहित आसपासका २५ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन्।
स्वास्थ्य बीमामार्फत सेवा प्रदान गर्ने प्रमुख अस्पतालका रूपमा रहेको भरतपुरमा निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा सेवा बन्द भएपछि बीमामार्फत उपचार गराउन आउने बिरामीको चापसमेत बढ्दै गएको अस्पतालले जनाएको छ।