विराटनगर । कोशी अस्पतालमा बिरामीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक सुविधासहितका २ ठूला भवन निर्माण भइरहेका छन्।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार अस्पताल परिसरमा दुई अर्ब ४६ करोड रुपैयाँ लागतमा पाँच सय बेड क्षमताको मेडिकल भवन र ३८ करोड ८७ लाख रुपैयाँ लागतमा २५९ बेड क्षमताको आइसियु तथा सर्जिकल भवन निर्माण भइरहेको छ।
अस्पतालको अगाडिको भागमा निर्माण भइरहेको आइसियु तथा सर्जिकल भवनका लागि रमणभुमि कन्स्ट्रक्सन विराटनगरसँग २०७८ असारमा निर्माण सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माणको म्याद गत असार २५ गते सकिएपछि अहिले म्याद थपको प्रक्रिया अघि बढाइएको छ। उक्त भवनको वित्तीय प्रगति ६४ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत पुगेको छ।
यस्तै, पाँच सय बेड क्षमताको मेडिकल भवन निर्माणका लागि केसी कन्स्ट्रक्सन काठमाडौंसँग २०७९ पुसमा सम्झौता भएको थियो। सम्झौताअनुसार आगामी असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको अवधिमा काम पूरा नभएपछि निर्माण कम्पनीसँगको सम्झौता अवधि एक वर्ष थप गरिएको छ।
कोशी अस्पतालमा दैनिक दुई हजारसम्म बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालको कुल बेड क्षमता साढे तीन सय भए पनि भौतिक संरचनाको अभावमा हाल करिब तीन सय बेडबाट मात्रै सेवा सञ्चालन भइरहेको छ।
नयाँ भवन निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएपछि अस्पतालको कुल बेड क्षमता बढेर करिब साढे सात सय पुग्नेछ। यसबाट बिरामीको चाप व्यवस्थापनसँगै आइसियु, सर्जरी तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।