विराटनगर । पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सेवा दिँदै आएको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले आफ्नो २६औँ वार्षिकोत्सवको अवसरमा उदयपुरको गाईघाटमा बृहत् स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ।
अस्पतालले आगामी २०८३ भदौ १३ गते शनिबार गाईघाटमा ‘मिनी म्याराथन’ तथा निःशुल्क बहुविशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको हो। अस्पताल प्राङ्गणमा आयोजित २६औँ वार्षिकोत्सव समारोहका क्रममा प्रशासनले समुदायस्तरमै पुगेर नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ।
कार्यक्रमअन्तर्गत गाईघाट मिनी म्याराथन २०८३ आयोजना गरिनेछ। यस्तै, न्यूरोसर्जरी, मुटुरोग तथा नाक, कान, घाँटीसम्बन्धी समस्या भएका नागरिकका लागि विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श उपलब्ध गराइने अस्पतालले जनाएको छ। शिविरमा रक्तचाप र सुगरको निःशुल्क जाँच तथा आवश्यकताअनुसार निःशुल्क औषधि वितरण समेत गरिनेछ।
वार्षिकोत्सव समारोहमा अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराई, एकेडेमिक निर्देशक एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा। नबिन कुमार कर्ण, मेडिकल निर्देशक एवं वरिष्ठ फिजिसियन डा। विवेक कट्टेल, अस्पताल निर्देशक डा। ऋतिक विष्टलगायत वरिष्ठ चिकित्सक, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो। समारोहमा वरिष्ठ चिकित्सकहरूले संयुक्त रूपमा केक काटेर अस्पतालको २६ वर्षे यात्राको खुसीयाली साटासाट गरेका थिए।
अस्पताल प्रशासनले वार्षिकोत्सवलाई अस्पताल परिसरमा मात्र सीमित नगरी समुदायमा पुगेर नागरिकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले गाईघाटमा कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ।
अस्पतालले मिनी म्याराथनमा सहभागी हुन तथा निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिन उदयपुर र आसपासका सर्वसाधारणलाई अपिल गरेको छ। साथै, आगामी दिनमा स्वास्थ्य सेवामा थप प्रविधि र विशेषज्ञ सेवा विस्तार गर्दै जाने प्रतिबद्धता अस्पतालले जनाएको छ।