काठमाडौँ । सरकारसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशन बस्ने चेतावनी दिएका छन्।
‘एमबीबीएसरबीडीएस इन्टर्न स्टाइपेन्ड मुभमेन्ट नेपाल’का संयोजक डिल्ली हरिजनले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत पूर्वसहमति तत्काल कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
गत साउन २२ गते अनशनरत हरिजन र सरकारी वार्ता टोलीबीच सहमति भएपछि अनशन स्थगित गरिएको थियो। तर सहमतिअनुसार चिकित्सा शिक्षा आयोगबाट तत्काल निर्णय हुनुपर्ने भए पनि १६ दिन बितिसक्दा समेत प्रक्रिया अघि नबढेको मुभमेन्टको भनाइ छ।
इन्टर्न चिकित्सकहरूको मुख्य माग निर्वाह भत्ता वृद्धि गर्नु रहेको छ। कार्यदलको प्रतिवेदनले अस्पतालमा तोकिएको समय पूरा गर्नुपर्ने, रात्रिकालीन सेवा तथा अतिरिक्त कार्यबोझलाई ध्यानमा राख्दै एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको सुरु तलब स्केलको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गरेको छ।
हालको महँगीसँगै आवास, खाना र यातायातमा हुने खर्चलाई ध्यानमा राख्दै उक्त सिफारिस तत्काल कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ। त्यस्तै, श्रम ऐन, २०७४ अनुसार आवासीय तथा इन्टर्न चिकित्सकको कार्यघण्टा सरकारी र निजी दुवै चिकित्सा शिक्षण संस्थामा समान रूपमा लागू गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।
निजी मेडिकल कलेजले विभिन्न शीर्षकमा लिने अतिरिक्त शुल्क नियन्त्रण गरी सरकारले तोकेको शुल्क मात्र लिनुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने उनीहरूको माग छ। चिकित्सा शिक्षा आयोगले २१ वैशाख २०७९ मा जारी गरेको परिपत्र कार्यान्वयन तथा सरकारी र निजी मेडिकल कलेजमा छात्रावाससम्बन्धी वैकल्पिक व्यवस्था समान रूपमा लागू गर्नुपर्ने विषयमा पनि यसअघि सहमति भएको हरिजनले बताएका छन्।
मुभमेन्टका अनुसार यसअघि सम्बन्धित पदाधिकारीको अभावलगायत कारण देखाउँदै निर्णय प्रक्रिया लम्ब्याइएको थियो। तर अहिले आवश्यक पदाधिकारीहरू पूरा भइसकेकाले थप ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ।
हरिजनले सहमति कागज र बैठकका निर्णयमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित विश्वविद्यालयका पदाधिकारीलाई सहमतिका विषय तत्काल एजेन्डामा राखी चिकित्सा शिक्षा आयोगको ‘फुल हाउस’ बैठकबाट स्पष्ट निर्णय गर्न आग्रह गरेका छन्।
माग सम्बोधनमा पुनः आलटाल गरी निर्णय प्रक्रिया लम्ब्याइए जुनसुकै बेला पुनः आमरण अनशनमा बस्ने चेतावनी इन्टर्न चिकित्सकहरूले दिएका छन्।
