काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि घाइतेको उद्धार तथा उपचारका लागि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।
स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र सक्रिय गर्दै प्रभावित क्षेत्रका अस्पतालसँग समन्वय बढाइएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकाका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र नेपाल प्रहरी अस्पताललाई आवश्यक परे तत्काल उपचार दिन सक्ने गरी तयारी अवस्थामा राखिएको छ।
सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा मात्रै १०० बेड तयारी अवस्थामा राखिएको छ। अन्य प्रमुख अस्पतालमा समेत थप बेड, चिकित्सक, नर्स तथा आकस्मिक उपचार सेवा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय ट्रमा सेन्टरबाट चिकित्सक तथा नर्स सम्मिलित विशेषज्ञ टोली प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ। त्रिशूली, धादिङ र रसुवाका अस्पताललाई पनि उपचार तथा समन्वयका लागि अलर्ट गरिएको छ।
घाइतेको उपचारमा आवश्यक पर्न सक्ने रगतको व्यवस्थापनका लागि ब्लड बैंकलाई समेत उच्च सतर्कतामा राखिएको छ। उद्धार तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन नेपाल रेडक्रस, नेपाल स्काउट र लायन्स क्लबका स्वयंसेवकलाई पनि तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
हालसम्म उद्धार गरिएका दुई घाइतेको रसुवाको धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। काठमाडौंमा गम्भीर घाइते ल्याउनुपर्ने अवस्था आए तत्काल उपचार सुनिश्चित गर्न अस्पतालहरूमा इमर्जेन्सी, शल्यक्रिया र सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ।