काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नुवाकोट र धादिङमा हालसम्म ८ जनाको शव फेला परेको छ। पछिल्लो विवरणअनुसार नुवाकोटमा चार र धादिङमा चार जनाको शव भेटिएको हो।
बाढीपछि सुरक्षा निकायले खोज तथा उद्धारलाई तीव्रता दिएका छन्। नेपाली सेनाका चार हेलिकप्टर टिमुरे, स्याफ्रुबेँसी, मेलुङ र त्रिशूली क्षेत्रमा परिचालन गरिएको छ। टिमुरे र स्याफ्रुबेँसीबाट सात जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेनाको मेडिकल टोलीसमेत त्रिशूली पठाइएको छ।
यता, टिमुरेस्थित बोर्डर आउट पोस्टमा कार्यरत नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ।
बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ भने नुवाकोट हुँदै धादिङसम्मका नदी तटीय क्षेत्रमा समेत असर परेको छ। नुवाकोटको वेत्रावती, त्रिशूली, देवीघाटलगायत क्षेत्रमा घर, पुल तथा अन्य संरचनामा क्षति पुगेको छ।
यसैबीच, नुवाकोटको वेत्रावतीदेखि रसुवागढी नाकासम्मको करिब ४२ किलोमिटर सडक बाढीले विभिन्न स्थानमा क्षतिग्रस्त बनाएको सडक विभागले जनाएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीका अनुसार रसुवागढी नाकामा सामान ढुवानीका लागि पुगेका २०० वटाभन्दा बढी ट्रक बाढीले बगाएको अनुमान छ। उनका अनुसार भन्सार यार्डमा रहेका गाडीसमेत बाँकी नरहेको र केही कामदार सम्पर्कविहीन रहेको जानकारी आएको छ। यद्यपि, ट्रक तथा कन्टेनर क्षतिको यकिन विवरण संकलन हुन बाँकी छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।