चितवन । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले चितवनसम्म ल्याएका शव धमाधम फेला पर्न थालेपछि जिल्लामा खोजी र उद्धारसँगै शवको सुरक्षित व्यवस्थापन अर्को ठूलो चुनौती बनेको छ। बिहीबार बिहानसम्म त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानबाट ६४ वटा शव फेला परेको जिल्ला प्रशासन कार्यालय र प्रहरीले जनाएको छ।
रसुवाबाट बाढीको बहावसँगै चितवनतर्फ शव आइपुग्न थालेपछि नदी किनारका जोखिमयुक्त क्षेत्रमा खोजी बढाइएको हो। प्रशासनका अनुसार खोजी कार्य रोकिएको छैन र थप शव भेटिन सक्ने सम्भावना छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार त्रिशूलीको मौवाखोला क्षेत्रदेखि नारायणीको गोलाघाटसम्म खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन भएका छन्। स्थानीय जनप्रतिनिधि, समाजसेवी र नदी आसपासका बासिन्दाले पनि खोजीमा सहयोग गरिरहेका छन्।
फेला परेका शवलाई पहिचान गर्न प्रहरीले फोटोग्राफी, जीपीएस लोकेसन रेकर्ड, मुचुल्का र नम्बरिङ गर्ने तथा शव ब्यागमा ट्याग लगाउने प्रक्रिया अपनाएको छ। त्यसपछि उपलब्ध शवगृहमा राखेर पहिचान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।
तर अहिले चितवनका लागि खोजी कार्यसँगै अर्को गम्भीर प्रश्न उठेको छ—फेला परेका शव सुरक्षित राख्ने ठाउँ कहाँ ? प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा अधिकतम करिब ५० वटा शव राख्न सक्ने क्षमता मात्र छ। फेला परेको शवको संख्या उपलब्ध क्षमताभन्दा माथि पुगिसकेकाले थप शव आए व्यवस्थापन झनै कठिन हुने देखिएको छ। त्यसका लागि आवश्यक परे कोल्डस्टोरलगायत वैकल्पिक स्थानसँग समन्वय गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले नदी किनारमा शव फेला परेमा आफैं व्यवस्थापन गर्न नखोजी तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ। बाढीले बगाएर ल्याएका ग्याँस, काठ, दाउरा वा अन्य सामग्री खोज्ने नाममा नदी किनारमा भीड नगर्न पनि चेतावनी दिइएको छ।
यसबीच प्रशासनले मृतकका विभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा सार्वजनिक नगर्न विशेष आग्रह गरेको छ। यस्ता दृश्यले मृतकका परिवारजनलाई थप पीडा दिनुका साथै सर्वसाधारणमा त्रास, तनाव र मनोवैज्ञानिक असर निम्त्याउन सक्ने भएकाले संवेदनशीलता अपनाउन भनिएको हो।
बाढी प्रभावित क्षेत्रमा खोजी जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ। यस्तो अवस्थामा चितवनको चुनौती नदी किनारमा हराएका शव खोज्नेमै सीमित छैनस फेला परेका शवको सुरक्षित संरक्षण, पहिचान र सम्मानजनक व्यवस्थापन पनि उत्तिकै संवेदनशील जिम्मेवारी बनेको छ।