काठमाडौं । हालैको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको आपूर्ति निर्बाध बनाउन नेपाल औषधि उत्पादक संघले सरकारसँग आग्रह गरेको छ। संघले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत, उपचार र पुनर्स्थापनाका कामलाई तीव्र बनाउन आग्रह गरेको हो।
संघले बिहीबार जारी गरेको विज्ञप्तिमा बाढी तथा पहिरोका कारण जनजीवनसँगै सडक, पुल, विद्युत्, सञ्चार, उद्योग–व्यवसाय, भन्सार तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रणाली प्रभावित भएकाले स्वास्थ्य सेवामा आवश्यक औषधिको अभाव हुन नदिन विशेष ध्यान दिनुपर्ने जनाएको छ।
औषधि मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले प्रभावित क्षेत्रको स्वास्थ्य आवश्यकता तत्काल पहिचान गरी औषधि तथा स्वास्थ्य सामग्रीको पर्याप्त, नियमित र निर्बाध आपूर्ति सुनिश्चित गर्न स्वदेशी औषधि उद्योग राज्य र नागरिकको साथमा प्रतिबद्ध रहेको संघले जनाएको छ।
संघले बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा बेपत्ता नागरिकको शीघ्र उद्धारको कामना गरेको छ। साथै घाइते, विस्थापित र प्रभावित नागरिकको स्वास्थ्यलाभ तथा सुरक्षित जीवनका लागि शुभेच्छा व्यक्त गरेको छ। खोज तथा उद्धार, राहत, उपचार र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच समन्वय आवश्यक रहेको संघको भनाइ छ।
त्यस्तै, विपद्बाट प्रभावित उद्योगी, व्यवसायी, श्रमिक, कृषक तथा सर्वसाधारणको वास्तविक क्षतिको शीघ्र मूल्याङ्कन गरी राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि विशेष आर्थिक तथा नीतिगत प्याकेज ल्याउन पनि संघले सरकारसँग आग्रह गरेको छ।
विपद्लाई राष्ट्रको साझा पीडाका रूपमा लिँदै राज्य, निजी क्षेत्र र समाज सबैले आ–आफ्नो ठाउँबाट खोज तथा उद्धार, राहत, उपचार, औषधि आपूर्ति र पुनर्स्थापनामा योगदान गर्न संघले आह्वान गरेको छ।