धनगढी । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि निसर्ग हस्पिटलले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
बाढीबाट ठूलो जनधनको क्षति भई कैयौँ परिवार पीडित बनेका बेला हस्पिटलले यस वर्षको वार्षिक तीज कार्यक्रमसमेत नगर्ने निर्णय गर्दै कार्यक्रमका लागि छुट्याइएको रकम राहतका लागि प्रदान गरेको हो।
हस्पिटलका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूले कम्तीमा एक दिन बराबरको तलब तथा सुविधा सहयोग गर्ने निर्णय गरेका थिए। उक्त रकममा तीज कार्यक्रमका लागि छुट्याइएको बजेटसमेत थप गरी कुल ११ लाख ११ हजार १११ रुपैयाँ बाढीपीडितका लागि सहयोग गरिएको हस्पिटलले जनाएको छ।
निसर्ग हस्पिटलले हरेक वर्ष आफ्ना महिला कर्मचारी तथा चिकित्सकहरूका लागि तीज कार्यक्रम आयोजना गर्दै आएको थियो। तर भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्याएपछि यस वर्ष तीज कार्यक्रम नगरी त्यसका लागि छुट्याइएको रकम पीडितको राहत तथा पुनःस्थापनामा खर्च गर्ने निर्णय गरिएको हो।
हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले विपत्तिको समयमा आफ्नो खुसीभन्दा पीडित परिवारको आवश्यकता महत्वपूर्ण हुने बताए।
‘चाडपर्व हाम्रो खुसीका अवसर हुन्। तर अहिले धेरै परिवार दुःख र अभावमा छन्। यस्तो अवस्थामा आफ्नो खुसीको एउटा हिस्सा पीडितका लागि समर्पण गर्नु हाम्रो मानवीय दायित्व हो,’ अध्यक्ष पन्तले भने।
उनले तीज कार्यक्रम नगर्ने निर्णयलाई केवल एउटा कार्यक्रम स्थगित गर्ने विषयका रूपमा नभई विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउने प्रयासका रूपमा लिनुपर्ने बताए।
‘हामीले गरेको सहयोगले बाढीले पुर्याएको सम्पूर्ण क्षतिको पूर्ति गर्न नसक्ला। तर पीडामा रहेका परिवारलाई हामी उनीहरूको साथमा छौँ भन्ने भरोसा दिन सक्छौँ,’ पन्तले भने।