गाईघाट । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले आफ्नो २६औँ वार्षिकोत्सव उदयपुरको गाईघाटमा विविध सामाजिक, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाएको छ।
२०८३ भदौ १३ गते शनिबार आयोजित वार्षिकोत्सव कार्यक्रमको सुरुआत ‘न्यूरो २६ गाईघाट रन’ मिनी म्याराथनबाट गरिएको थियो। स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित मिनी म्याराथनमा २०६ जना धावकको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने धावकहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
मिनी म्याराथनपछि आयोजित सम्मान समारोहमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न योगदान पुर्याउँदै आएका १०० भन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो।
वार्षिकोत्सवकै अवसरमा अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनप्रेमी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। विद्यालय परिसरमा साइकल पार्किङ स्ट्यान्ड निर्माण गर्नुका साथै खानेपानी तथा शौचालय संरचना सुधार र मर्मतसम्भारका लागि आर्थिक सहयोगसमेत हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेत, जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगत, जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। सन्तोष राई, न्यूरो हस्पिटलका अध्यक्ष तथा वरिष्ठ कन्सलटेन्ट न्युरोलोजिष्ट डा. बीरेन्द्र कुमार बिष्ट, कार्यकारी निर्देशक डा. अनिशा बिष्ट र अपरेसनल डाइरेक्टर राजेश भट्टराईलगायतको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले ठूला सहरमा सीमित विशेषज्ञ स्वास्थ्य सेवा गाउँ–घरमै पुर्याउन अस्पतालले खेलेको भूमिकाको प्रशंसा गर। अस्पतालकी कार्यकारी निर्देशक डा. अनिशा बिष्टले पूर्वी नेपालका नागरिकलाई सर्वसुलभ, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निरन्तर प्रतिबद्ध रहेको बताए।
वार्षिकोत्सव अभियानअन्तर्गत दिनभर चलेका कार्यक्रमको अन्तिम चरणमा गाईघाटमा बृहत् निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। शिविरमा वरिष्ठ न्युरोसर्जन डा. रोशन खतिवडा, अर्थोपेडिक सर्जन डा. अमित देव, जनरल सर्जन डा. प्रज्ज्वल खतिवडा, जनरल फिजिसियन डा. रमाकान्त राय, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. आशिष राज बिष्ट तथा डेन्टल एवं म्याक्सिलोफिसियल सर्जन डा. अमित प्रताप शाह र डा. जितेन्द्र मण्डललगायत वरिष्ठ चिकित्सकहरूको टोलीले बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श दिएको थियो।
शिविरमा सहभागी बिरामीलाई आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो। आफ्नै सहरमा प्रदेशस्तरीय विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा पाएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेको बताएका छन्।
अस्पतालले पूर्वी नेपालका नागरिकको घरदैलोसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित सामाजिक उत्तरदायित्व र स्वास्थ्य सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।