पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ। सर्लाहीको रामनगर नगरपालिका–३ बहुअर्वाका रञ्जय दास र रिंकु देवी दासका छोरालाई आइतबार साँझ अपरिचित महिलाले गाइनो वार्डबाट लिएर फरार भएको परिवारजनले बताएका छन्।
शिशु गाइनो वार्डको बेड नम्बर ११ मा भर्ना थिए। परिवारका अनुसार शल्यक्रियामार्फत शनिबार राति करिब ११ बजे शिशुको जन्म भएको थियो। जन्मेको एक दिनमै अस्पतालबाट शिशु हराएपछि परिवारमा चिन्ता बढेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार अन्दाजी ३५ वर्षीया महिलाले शिशुकी हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी थिइन्। त्यसपछि ती महिला शिशु लिएर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
शिशुकी हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीका रूपमा काम गर्ने गरेको बताउँदै परिवारसँग नजिकिएकी थिइन्। आफू बच्चाको हेरचाह गरिरहेको समयमा सुरक्षा गार्डले गाइनो वार्डमा बस्न नदिएपछि केही समय बाहिर गएको र त्यही बेला महिलाले शिशुलाई लिएर गएको उनले बताइन्।
परिवारजनका अनुसार शिशुलाई लिएर फरार भएकी महिलाले हरियो मास्क र रातो मेक्सी लगाएकी थिइन्। प्रहरीले घटना सार्वजनिक भएलगत्तै शिशुको खोजी तीव्र बनाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र फरार महिलाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।