काठमाडौँ । देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट सिर्जित स्वास्थ्य संकट व्यवस्थापन तथा आपत्कालीन प्रतिकार्यका लागि विश्व स्वास्थ्य सङ्गठन (WHO) ले १५०,००० अमेरिकी डलर (करिब दुई करोड रुपैयाँ) आपत्कालीन सहयोग उपलब्ध गराएको छ। बाढीका कारण ७३० भन्दा बढी मानिसको मृत्यु, २५०० भन्दा बढी बेपत्ता र २०० भन्दा बढी घाइते भएसँगै बागमती र गण्डकी प्रदेशका १० हजार घरपरिवारलाई तत्काल स्वास्थ्य राहतको आवश्यकता परेको छ।
डब्लुएचओले १० हजार मानिसलाई तीन महिनासम्म पुग्ने आपत्कालीन स्वास्थ्य सामग्री, टेन्ट, सर्जिकल मास्क र स्यानिटाइजर प्रभावित क्षेत्रमा पठाइसकेको छ। रसुवाका चार वटा स्वास्थ्य संस्था पूर्ण र धादिङका दुई वटा आंशिक रूपमा क्षतिग्रस्त हुनुका साथै मुख्य सडकहरू अवरुद्ध भएकाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन कठिनाइ भइरहेको छ।
बाढीपछि दूषित पानी तथा खानाबाट हुने रोग, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, चोटपटक र लामखुट्टेजन्य रोगको जोखिम बढ्न सक्ने डब्लुएचओले जनाएको छ। विस्थापन, घरबार तथा आफन्त गुमाउनुका कारण प्रभावितमा मानसिक तथा मनोसामाजिक समस्या पनि बढ्न सक्ने भएकाले स्वास्थ्य निगरानी र आवश्यक सेवाको निरन्तरता प्राथमिकतामा राखिएको छ।
डब्लुएचओले नेपाल सरकार र साझेदार संस्थासँग समन्वय गर्दै स्वास्थ्य सेवा पुनःस्थापना, रोग निगरानी तथा बाढीपछिको स्वास्थ्य प्रतिकार्यमा सहयोग जारी राख्ने जनाएको छ।