काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ। शिशु चोरीको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, इनर्वाकी २७ वर्षीया सबिना खातुनलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार रातभर गरिएको खोजी, सीसीटीभी निगरानी तथा अनुसन्धानपछि खातुन बस्दै आएको कोठाबाट शिशुलाई सकुशल उद्धार गरिएको हो। उद्धारपछि शिशुलाई आमाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्। जन्मिएको एक दिन पनि नपुग्दै आइतबार शिशु अस्पतालबाट हराएको थियो।
परिवारका अनुसार एक अपरिचित महिलाले आफू अस्पतालकी कुचिकार भएको बताउँदै शिशुलाई केहीबेर खेलाउने भन्दै हजुरआमासँग मागेकी थिइन्। बच्चा लिएर बाहिरिएकी उनी लामो समयसम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।
प्रहरीका अनुसार खातुनले प्रारम्भिक बयानमा आफू निसन्तान भएकाले बच्चा आफ्नै बनाएर राख्ने उद्देश्यले लगेको बताएकी छन्। घटनामा अन्य व्यक्तिको संलग्नता वा थप उद्देश्य थियो कि थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अस्पतालबाटै नवजात शिशु चोरी भएपछि नारायणी अस्पतालको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ।