काठमाडौँ । रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन सरकारले स्वास्थ्य निगरानी तथा प्रतिकार्यलाई तीव्र बनाएको छ।
स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा ज्वरो, झाडापखाला तथा अन्य संक्रामक रोगको नियमित निगरानी गरिरहेको जनाएको छ। यसका लागि रसुवा र नुवाकोटमा विशेष स्वास्थ्य टोली परिचालन गरिएको छ भने महामारी निगरानीमा प्रशिक्षित जनशक्तिसहितका टोली पनि खटाइएको छ।
बाढीका कारण खानेपानी र सरसफाइका संरचना प्रभावित हुँदा दूषित पानीबाट हुने रोग तथा श्वासप्रश्वासजन्य संक्रमणको जोखिम बढ्न सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा रोग निगरानी, प्रकोप प्रतिकार्य र स्वास्थ्य अवस्थाको विश्लेषणलाई प्राथमिकता दिएको छ। साथै, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी रोकथामका कामसमेत अघि बढाइएको छ।बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर राख्न एम्बुलेन्स तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। मानसिक स्वास्थ्यका लागि पनि छुट्टै स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयले जनाएको छ।