धनगढी । सेती प्रादेशिक अस्पतालको सेवा सुधारका लागि सुदूरपश्चिम प्रदेश सरकारले नियमित अनुगमन र आवश्यक सुधारलाई प्राथमिकता दिने भएको छ।
मुख्यमन्त्री खगराज भट्टले मंगलबार अस्पतालको अनुगमन गर्दै बिरामीले सहज, छिटो र गुणस्तरीय उपचार पाउने वातावरण बनाउन अस्पताल प्रशासनलाई निर्देशन दिए। उपलब्ध जनशक्ति र स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान गर्न उनले आग्रह गरे।
अस्पतालमा उपचारका लागि आउने कुनै पनि नागरिक सेवा पाउनबाट वञ्चित हुन नहुने भन्दै मुख्यमन्त्री भट्टले बिरामी तथा सेवाग्राहीप्रतिको व्यवहारमा समेत सुधार आवश्यक रहेको बताए।
अनुगमनका क्रममा अस्पतालको सेवा प्रवाह, जनशक्ति, भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्थाबारे जानकारी लिइएको थियो। अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति र पूर्वाधार पर्याप्त नहुँदा उपचार सेवा प्रभावित हुँदै आएको छ।
मुख्यमन्त्री भट्टले अस्पतालका समस्या पहिचान गरी समाधानका लागि हरेक १५ दिनमा अनुगमन गर्ने बताएका छन्। अस्पताललाई प्रदेशकै नमुना सरकारी स्वास्थ्य संस्था बनाउने उद्देश्यसहित सेवा तथा संरचनागत सुधारमा प्रदेश सरकारले पहल गर्ने उनको भनाइ छ।