वीरगञ्ज । रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण घाइते भएकाहरूको उपचारमा आवश्यक रगत व्यवस्थापन गर्न वीरगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
वीरगञ्ज बैंकर्स ग्रुपको आयोजनामा भएको कार्यक्रममा ९ महिलासहित १११ जनाले रक्तदान गरेका छन्। बाढी–पहिरो प्रभावितका लागि आयोजित कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो।
रक्तसञ्चार केन्द्र वीरगञ्जको प्राविधिक टोलीले रगत सङ्कलन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाले समेत सहकार्य गरेको थियो। विपद्का समयमा गरिएको रक्तदानले घाइतेको आकस्मिक उपचारमा सहयोग पुग्ने आयोजकले जनाएको छ।