काठमाडौँ । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि हजारौँ नागरिक सम्पर्कविहीन रहेका बेला प्रभावित क्षेत्रमा विभिन्न स्वास्थ्य समस्या फैलिन सक्ने भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।
बाढीपछि दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखाला तथा अन्य पेटसम्बन्धी समस्या, श्वासप्रश्वासको समस्या र घाउमा सङ्क्रमण हुने जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।
ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। अमित गौलीले बाढी प्रभावित क्षेत्रमा मधुमेह, उच्च रक्तचाप, दम तथा क्यान्सरजस्ता दीर्घरोग भएका बिरामी अझ बढी जोखिममा रहने बताएका छन् । औषधि नियमित खान नपाउँदा तथा नयाँ सङ्क्रमण थपिँदा उनीहरूको अवस्था जटिल हुनसक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
चिकित्सकले ज्वरो वा सामान्य स्वास्थ्य समस्या देखिँदैमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्न आग्रह गरेका छन् । प्रभावित क्षेत्रमा जीवनजल, सिटामोल, स्लाइन, ड्रेसिङ सामग्रीलगायत आधारभूत स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपर्ने उनीहरूको सुझाव छ ।
त्यस्तै, बाढीका कारण घरबारविहीन तथा मानसिक तनावमा रहेका नागरिकका लागि मनोसामाजिक परामर्शलाई पनि स्वास्थ्य सेवाको प्राथमिकतामा राख्नुपर्ने चिकित्सकले बताएका छन् । प्रभावित क्षेत्रमा तत्काल आधारभूत स्वास्थ्य सेवा पुर्याउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको चिकित्सकको भनाइ छ ।