काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस अवसरमा कृष्ण मन्दिरहरूमा पूजाआराधना, प्रवचन, भजनकीर्तन तथा झाँकी आयोजना गरिन्छ भने भक्तजन व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ।
भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय, अत्याचार र अधर्मविरुद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक मान्यता छ। कुरुक्षेत्रको युद्धमा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई ‘श्रीमद्भगवद्गीता’का रूपमा पवित्र ग्रन्थ मानिन्छ।
जन्माष्टमीका अवसरमा आज काठमाडौं उपत्यकाका विभिन्न कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्नेछ। विशेषगरी पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्ने तथा कागेश्वरी मनोहरास्थित नवतनधामलगायत स्थानमा पनि विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुनेछन्।
यस अवसरमा विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने गर्छन्। पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।