काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन हुन्। उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त उद्धार टोलीले सुरुङबाट बाहिर निकालेको हो। दुवैलाई करिब १७० मिटर गहिराइबाट उद्धार गरिएको जनाइएको छ।
उद्धारपछि दुवैको स्वास्थ्य अवस्था स्थिर रहेको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणमा उनीहरूको अवस्था सन्तोषजनक देखिएपछि थप उपचार र निगरानीका लागि अस्पताल लगिएको छ। कविर महर्जनलाई हेलिकोप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल ल्याइएको छ।
सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुनसक्ने भन्दै खोजी तथा उद्धार कार्य जारी छ। उद्धार भएका सञ्जय शाहले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू सकुशल रहेको जानकारी दिएपछि उद्धार टोलीले खोजीलाई थप तीव्र बनाएको छ।