काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिर एक महिलाले शिशु जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनामा अस्पतालले प्रसूति सेवा उपलब्ध गराउन नसकेको भन्दै प्रश्न उठेपछि मन्त्रालयले स्थलगत छानबिन अघि बढाएको हो।
घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा। सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज जाने भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख एवं महिला तथा प्रसूति रोग विशेषज्ञ डा। पवनजंग रायमाझी पनि छानबिन टोलीसँगै राजविराज जाने भएका छन्।
मन्त्रालयले घटनाका सम्बन्धमा अस्पतालसँग स्पष्टीकरणसमेत मागेको छ। स्थलगत छानबिनपछि घटनाको वास्तविकता बाहिर ल्याइने र छानबिनका क्रममा कोही दोषी देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ।
घटना प्रतिनिधिसभामा समेत उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले घटनाबारे सदनको ध्यानाकर्षण गराउँदै स्वास्थ्य संस्थामा उपचारका लागि पुगेकी महिलाले आधारभूत उपचार तथा प्रसूति सेवा पाउन नसक्नु गम्भीर विषय भएको बताएका छन्।
सांसद कर्णका अनुसार राजविराज नगरपालिका–१४ पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको थियो। तर उपचारका लागि आवश्यक रकम नभएको भन्दै अस्पतालमा भर्ना हुन नपाएको उनको दाबी छ। त्यसपछि महिलाले अस्पताल परिसरबाहिरै शिशु जन्माउनुपरेको सांसद कर्णले बताएका छन्।
यद्यपि, घटनाको वास्तविक कारण र अस्पतालको तर्फबाट भएको व्यवहारबारे भने छानबिनपछि मात्रै स्पष्ट हुने मन्त्रालयले जनाएको छ। यसैबीच, घटनाबारे अस्पतालले पनि छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
मन्त्रालयले स्थलगत अध्ययन तथा छानबिनबाट घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र दोषी देखिएमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।