काठमाडौँ । जेनजी आन्दोलनपछि स्वास्थ्य क्षेत्रमा नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सुधारका प्रयास अघि बढाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार लक्षित वर्गका लागि निःशुल्क उपचार सेवा व्यवस्थित गर्न ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल’ सञ्चालनमा ल्याइएको छ। हाल २१७ अस्पतालमा ३ हजार २५५ निःशुल्क शय्या व्यवस्था गरिएको छ। त्यस्तै, नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप गरी विभिन्न ब्लड बैंकमा उपलब्ध रगतको जानकारी लिन सकिने व्यवस्था गरिएको छ। हाल ३१ वटा ब्लड बैंक अनलाइन प्रणालीमा आबद्ध छन्।
सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन, स्वास्थ्य रिपोर्ट डिजिटल प्रणालीबाट हेर्न सकिने व्यवस्था, स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य तथा १४ संघीय अस्पतालमा जलन उपचार युनिट सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ‘हेलो स्वास्थ्य’ १११५ मा प्राप्त ७५ प्रतिशतभन्दा बढी गुनासो तत्काल समाधान गरिएको छ। स्वास्थ्य सेवामा प्रविधिको प्रयोग बढाउँदै सेवा थप सहज र पहुँचयोग्य बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ।