काठमाडौं । अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत बिरामीसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ।
रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिसँग ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलले लिएको अन्तर्वार्तासहितको सामग्री काउन्सिलको ध्यानमा आएको जनाएको छ।
त्यस्तै, सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा उद्धार गरिएका एक पथप्रदर्शक आईसीयूमा उपचाररत रहेको अवस्थामा बीबीसी नेपालीले असार २१ गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ।
प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराका अनुसार आईसीयू सामान्य अन्तर्वार्ता गर्ने स्थान होईन्। उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति, मानवीय मर्यादा तथा उपचार प्रक्रियामा पर्न सक्ने असरलाई ध्यानमा राखेर मात्र सञ्चार सामग्री तयार गर्नुपर्ने उनको भनाइ छ।
बोहराले यी दुवै सामग्रीलाई पत्रकार आचारसंहिताको दृष्टिले अध्ययन भइरहेको जानकारी दिए। उनका अनुसार सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग समेत आवश्यक जानकारी मागिएको छ। काउन्सिलले सम्बन्धित अस्पताललाई अस्पताल प्रशासन, बिरामी वा बिरामीका परिवारको अनुमति लिएर सञ्चारकर्मीले आईसीयूमा प्रवेश गरी अन्तर्वार्ता लिएको हो वा होईन् भन्नेबारे जानकारी दिन पत्राचार गरेको छ।
त्यसैगरी, आईसीयूमा सञ्चारकर्मीलाई प्रवेश अनुमति दिने वा नदिने तथा यससम्बन्धी चिकित्सकीय अभ्यास र मापदण्डबारे जानकारी माग्दै नेपाल मेडिकल काउन्सिललाई समेत पत्राचार गरिएको काउन्सिलले जनाएको छ। प्रसारित सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको र अध्ययनपछि आवश्यक देखिए आचारसंहिताअनुसार थप प्रक्रिया अघि बढाइने प्रेस काउन्सिल नेपालको भनाइ छ।