काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार पारिएको विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ।
कानुनमन्त्री सोबिता गौतमका अनुसार संशोधन विधेयक तयार भइसकेको छ। अब विधेयकलाई मन्त्रिपरिषद्मार्फत स्वीकृत गराएर संसद्मा पेस गर्ने तयारी भइरहेको छ।
मन्त्री गौतमले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रस्तावित व्यवस्थाबारे जानकारी दिएकी हुन्। प्रस्तावित विधेयकअनुसार आमाले कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा पाउनेछन् भने बुबाका लागि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ।
मन्त्री गौतमले आजको व्यस्त जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको उल्लेख गर्दै नवजात शिशु र परिवारसँग पर्याप्त समय बिताउन अभिभावकलाई अवसर दिनु राज्यको जिम्मेवारी भएको बताएकी छन्।
उनका अनुसार बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभई बुबाको पनि हो। त्यसैले अभिभावकत्वलाई संयुक्त जिम्मेवारीका रूपमा हेर्दै बुबाको सहभागितालाई समेत कानुनी रूपमा सम्बोधन गर्न खोजिएको हो।
प्रस्तावित व्यवस्थाले प्रसूति अवधिमा आमाको स्वास्थ्य तथा नवजात शिशुको हेरचाहसँगै प्रारम्भिक बालहेरचाहमा बुबाको सहभागितालाई पनि प्राथमिकता दिने अपेक्षा गरिएको छ। तर, प्रस्तावित व्यवस्था हाल विधेयकको चरणमा रहेकाले कानुनी रूपमा लागू भइसकेको छैन। मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद्बाट पारित भएपछि मात्र यससम्बन्धी व्यवस्था कार्यान्वयनमा आउनेछ।