काठमाडौँ । नेपालमा नसर्ने रोगको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सेवन, मोटोपन र मानसिक तनावका कारण उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
विभागका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये करिब ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार २० प्रतिशत वयस्कमा उच्च रक्तचाप देखिएको छ। तीमध्ये ५०.२ प्रतिशतलाई मात्र आफ्नो अवस्थाबारे जानकारी छ भने ३१.७ प्रतिशतले औषधि सेवन गरिरहेका छन्।
नसर्ने रोगको रोकथाम र उपचारलाई स्थानीय तहसम्म पुर्याउन सरकारले ‘पेन’ र ‘पेन–प्लस’ कार्यक्रम विस्तार गरेको छ। साथै, विपद्का समयमा नियमित उपचार र औषधि नरोकिने गरी ‘पेन–डी’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ।
विश्व बिरामी सुरक्षा दिवस २०२६ का अवसरमा विभागले सुरक्षित उपचार, औषधिको निरन्तर उपलब्धता, सही निदान र बिरामीको निरन्तर हेरचाहलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। सन् २०३० सम्म नसर्ने रोगका कारण हुने अकाल मृत्युदर एकतिहाइले घटाउने लक्ष्यसमेत सरकारले अघि सारेको छ।