अर्घाखाँची । अर्घाखाँचीमा पाठेघरको मुखको क्यान्सरबाट बचाउन लक्षित नियमित एचपिभी खोप कार्यक्रम सुरु भएको छ। सन्धिखर्क नगरपालिका–२ स्थित सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुलबाट विद्यालय केन्द्रित खोप कार्यक्रम शुभारम्भ गरिएको हो।
जिल्ला खोप समन्वय समिति र सन्धिखर्क नगरपालिकाको समन्वयमा सुरु भएको कार्यक्रममा कक्षा ६ मा अध्ययनरत ४५ जना छात्रालाई एचपिभी खोप लगाइएको छ।
एचपिभी अर्थात् ह्युमन प्यापिलोमा भाइरस संक्रमण पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रमुख कारण भएकाले किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको हो। नेपाल सरकारले एचपिभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरी विद्यालयबाटै खोप दिने व्यवस्था गरेको छ। कार्यक्रमअन्तर्गत हरेक वर्ष कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्षका किशोरीलाई एचपिभी खोप दिने व्यवस्था गरिएको छ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एच.पि.भी. हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् र तीमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यस मध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यि दुई प्रजातिहरूबाट भएको देखिन्छ ।