काभ्रेपलाञ्चोक । काभ्रेमा चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म ३२ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार साउन १ देखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा संक्रमण देखिएको हो।
सबैभन्दा बढी बनेपा र पाँचखाल नगरपालिकामा १३–१३ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।
लामखुट्टेको प्रजननका लागि अनुकूल मौसम भएकाले संक्रमण फैलिन नदिन घरआँगनमा पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट जोगिने र सरसफाइमा ध्यान दिन कार्यालयले आग्रह गरेको छ। ज्वरो, टाउको दुख्ने तथा शरीर दुख्नेजस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा गई परीक्षण गराउन पनि अनुरोध गरिएको छ।