नुवाकोट । बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको खोप अभियानअन्तर्गत नुवाकोटमा ५० हजार ४६७ जनाले खोप सेवन गरेका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खानेपानी र सरसफाइमा चुनौती थपिएसँगै हैजाको जोखिम बढेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा खोप अभियान सञ्चालन गरिएको हो।
जनस्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप दिने लक्ष्य राखिएको छ। कार्यालय प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा। अञ्जु कार्कीका अनुसार हालसम्म लक्ष्यको ठूलो हिस्सा खोपको पहुँचमा आइसकेको छ।
बाढी प्रभावित क्षेत्रमा प्रयोग भएको पानीमा ई–कोलाई जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढेको कार्यालयले जनाएको छ। विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाइको अवस्था चुनौतीपूर्ण रहेकाले हैजाको जोखिम न्यूनीकरणका लागि आपत्कालीन रूपमा खोप अभियान सञ्चालन गरिएको हो।
विदुर नगरपालिकामा मात्रै ५९ हजार २५४ जनालाई खोप दिने लक्ष्य रहेकामा हालसम्म ४० हजार २९१ जनाले खोप लिइसकेका छन्। नगरपालिकाका स्वास्थ्य संस्थासहित होल्डिङ सेन्टरमा समेत निःशुल्क खोप उपलब्ध गराइएको छ।
स्वास्थ्यकर्मीले खोपसँगै उमालेर वा शुद्धीकरण गरेर पानी पिउने, साबुनपानीले नियमित हात धुने, खाना सफा राख्ने तथा घर–टोलको सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्। कडा झाडापखाला, अत्यधिक जलवियोजनलगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।