बैतडी । सुदूरपश्चिम प्रदेशमा नवजात शिशुको लैङ्गिक अनुपात पछिल्ला तीन आर्थिक वर्षमा निरन्तर बढेको पाइएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रति १०० बालिकामा १२१ बालक जन्मिएकामा २०८१/८२ मा १२५ र २०८२/८३ मा १२६ पुगेको छ।
जिल्लागत रूपमा बझाङ, डोटी, बैतडी र दार्चुलामा पनि पछिल्लो वर्ष लैङ्गिक अनुपात बढेको तथ्यांकले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले भ्रूणको लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गराउने प्रवृत्तिले यस्तो असन्तुलन बढेको बताएका छन्।
लिङ्ग पहिचान गरी गर्भपतन गराउनु कानुनविपरीत भए पनि अनुगमन र कार्यान्वयनमा कमजोरीका कारण यस्तो अभ्यास लुकेर भइरहेको सरोकारवालाको भनाइ छ। लामो समयसम्म लैङ्गिक असन्तुलन कायम रहेमा भविष्यमा जनसांख्यिक तथा सामाजिक संरचनामा असर पर्न सक्ने उनीहरूले बताएका छन्।