बागलुङ । बागलुङमा डेङ्गु सङ्क्रमण बढेपछि नियन्त्रण तथा अनुसन्धानका लागि सरकारी विज्ञ टोली परिचालन गरिएको छ। गत साउनयता जिल्लामा एक हजार ४०३ जनामा डेङ्गु पुष्टि भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रादेशिक रोग नियन्त्रण महाशाखाको चार सदस्यीय टोली बागलुङ पुगेको हो।
डा. गोकर्ण दाहालको नेतृत्वमा रहेको टोलीले घरघरमा पुगेर बिरामीको अवस्था बुझ्नुका साथै धवलागिरि अस्पतालको अनुगमन, परीक्षण किटको अवस्था जाँच र नमूना सङ्कलन गरिरहेको छ।
डेङ्गुको कुन प्रजाति बढी फैलिएको हो भन्नेबारे समेत अध्ययन भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।