रुकुमपूर्व । कोरोना महामारीका बेला करिब ७२ लाख रुपैयाँ खर्चेर रुकुमपूर्व अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट पाँच वर्ष बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन।
दैनिक ३० देखि ३२ सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट सञ्चालनमा नआएपछि अस्पतालले बिरामीका लागि पोखरा र भैरहवालगायत ठाउँबाट सिलिन्डर ल्याउनुपर्ने अवस्था छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरालले प्लान्ट सञ्चालनमा आए उपचार सेवा सहज हुने बताए। पछिल्लो समय बर्खे भलले प्लान्ट क्षेत्रमा क्षति पुर्याएपछि सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनः सञ्चालन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।