काठमाडौँ — नेपालमा मातृ तथा नवजात शिशुको स्वास्थ्य अवस्था कोरोना महामारीका कारण भएको लकडाउनमा थप नाजुक बन्दै गएको एक अध्ययनले देखाएको छ।
महिला स्वास्थ्य डट कम ले हालै गरेको एक अध्ययनले लकडाउनको समयमा कोरोना संक्रमणको जोखिमका कारण अधिकांश अस्पतालमा हुने शिशुको जन्ममा कमी आएको देखिएको छ। त्यसको प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा पर्न गयो। परिणाम स्वरुप उक्त अवधिमा ज्यान गुमाउने आमा र शिशुको संख्यामा वृद्धि भएको देखिन्छ । यो अवधिमा गर्भवतीलाई आवश्यक स्वास्थ्य सेवाको गुणस्तरमा पनि ह्रास आएको देखिन्छ ।
मातृ–मृत्यु भन्नाले गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको ४२ दिनभित्र मृत्यु भएको अवस्थालाई जनाउँछ । चिकित्सकहरूका अनुसार गर्भवती महिलाले चौथो, छैटौं, आठौं र नवौं महिना गरी कम्तीमा चारपटक नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार नेपालमा ८४ प्रतिशतले मात्रै गर्भ जाँच गराउँछन् । कोरोना महामारीले यो संख्यामा झन् कमी आएको छ ।
कोरोना महामारी तथा लकडाउनले गर्दा मातृ शिशु स्वास्थ्य कार्यक्रम नै प्रभावित भएको छ। कोरोना महामारीले सुरक्षित गर्भपतन घटाउनुका साथै मातृ मृत्यु बढाएको, आमा सुरक्षा कार्यक्रम, यौन तथा प्रजनन् स्वास्थ्य, खोप, परिवार नियोजन, किशोर स्वास्थ्य लगायत कार्यक्रममा असर गरेको छ। त्यस्तै कोरोना संक्रमणको डरले नियमित स्वास्थ्य परीक्षण नगराउने र विकट क्षेत्रमा समयमा अस्पताल नपुर्याउँदा धेरै सुत्केरी तथा गर्भवतीले ज्यान गुमाएको देखिएको छ । लकडाउन र निषेधाज्ञाका कारण पनि धेरै जना समयमै अस्पताल नपुगेको देखिन्छ भने अत्यधिक रक्तस्राव हुँदा तथा घरमै सुत्केरी गराउनाले पनि मृत्युदर बढेको देखिन्छ । लकडाउन अघि र पछिको संख्या तुलना गर्दा मातृ तथा शिशु मृत्युदर झन्डै दोब्बरले वृद्धि भएको छ।
लकडाउन अवधिमा स्वास्थ्यकर्मीको हात धुने बानीमा वृद्धि भएको छ भने बच्चालाई स्पर्शबाट गरिने हेरचाहमा पनि सुधार भएको देखिएको छ।