काठमाडौं - कोभिड–१९ को संक्रमण बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु अर्को निर्णय नहुँदासम्मको लागि बन्द भएका छन् । विद्यालय सञ्चालन हुँदा संकट निस्कन सक्ने भन्दै आज बसेको नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले आजदेखि लागू हुनेगरी नगरभित्रका सम्पूर्ण विद्यालय, कलेज, होस्टल, ट्युशन सेन्टर, तालिम सेन्टर पूर्णतः बन्द गर्ने र सबै प्रकारका परीक्षाहरु समेत तत्काल स्थगित गर्ने निर्णय गरेको छ ।
बैठकले छात्रा प्रतिमा सापकोटाको निधनप्रति दुःख व्यक्त गर्दै घटनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन समिति गठन गरेको छ । तिलोत्तमा–१ को नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययन गर्ने सापकोटाको हिजो मृत्यु भएको थियो ।
बैठकले घटनामा धैर्य र संयमित रहन सबै पक्षलाई अपिल समेत गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । बैठकले सम्पूर्ण हाटबजारहरु अर्को निर्णय नहुँदासम्मको लागि तत्काल बन्द गर्ने÷गराउने, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने÷नगराउने लगायतका निर्णय समेत गरेको छ ।