मुगु । हिमाली जिल्ला मुगुको सोरु गाँउपालिकाअन्तर्गतका स्वास्थ्य चौकीमा सिटामोल समेत पाइन छाडेको छ। औषधि अभावका कारण उपचारका लागि चौकीमा आएका बिरामीहरू उपचारविनै फर्कने गरेका छन् ।
विभिन्न तहका सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्र र औषाधि खरिदमा लखौँ बजेट विनियोनज गरे पनि सोरु गाँउपालिकाहरूमा वर्षैभरि औषाधि अभाव भइरहने सोरु गाँउपालिका-६ सोरुकोटका बलिराज शाहीले बताए । जसका कारण दुर्गमका सर्वसाधारण सामान्य बिरामी हुँदा समेत ज्यान गुमाउन बाध्य छन्।
स्वास्थ्य चौकी नार्थपुका अहेब टिकाराज आर्यायका अनुसार गाउँपालिकाबाट आउने औषधिले गत बर्ष जम्मा तीन महिना पुगेको थियो । यो वर्ष अहिलेसम्म कुनै पनि तहको सरकारबाट औषधि आएको छैन । अब त सिटामोलसम्म पनि बाँकी नरहेको उनको भनाइ छ ।
औषधिका लागि धेरै पटक पालिकासँग माग गरे पनि नपाएको उनले बताए । चौकीमा कहिलेकाही सुत्केरी गराउन आउँदा समेत प्रर्याप्त सामाग्री अभाव हुने गरेको उनले बताए । ‘विधुत नहुँदा मोबाइलको लाइट बालेर सुत्केरी गराउन बाध्य छौ,’ स्वास्थ्य चौकी नार्थपुका अहेब आर्यायले भने। उनका अनुसार औषधिको अभावले स्टोर पनि खाली भएको छ।
सोरु गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कर्णबहादुर सावतका अनुसार आव २०७७/७८ मा खरिद गरेको औषधिले अहिलेसम्म काम चलेको छ । आव २०७८/०८९ को औषधि खरिद गर्न पालिकाबाट बजेट बिनियोजन गरे पनि प्रमुख प्रशासकीय अधिकृतहरूको फेरबदलले खाता सन्चालनलगायत नहुँदा पालिकाभित्र औषधिको चरम अभाव भएको हो।