एजेन्सी । मोटोपनाको समस्याले बच्चाहरूको स्मृति कमजोर पार्ने अध्ययनले देखाएको छ । भर्मन्ट विश्वविद्यालय र एल विश्वविद्यालयको अध्ययनका अनुसार सामान्य तौल भएका बच्चाको तुलनामा मोटा बच्चाहरूमा स्मृति कमजोर हुनुका साथै मोटो बच्चाहरूलाई सोच्ने र योजना बनाउन पनि गाह्रो हुने गर्छ ।
जामा पेडियाट्रिक्स जर्नलमा प्रकाशित अध्ययनका लागि १० वर्षसम्म १० हजार किशोर किशोरीहरूको डाटा लिएर विश्लेषण गरिएको थियो । अनुसन्धानको क्रममा प्रत्येक दुई वर्षमा सबै सहभागीहरूको रगतको नमूना जाँच, दिमागको स्क्यानलगायत जाँच गरिएको थियो ।
उच्च बडी मास इन्डेक्स (बीएमआई) भएका बच्चाहरूसँग स्मृति कमजोर हुने अध्ययनको नतिजाले देखाएको छ । भर्मन्ट विश्वविद्यालयकी जेनिफर लरेन्टका अनुसार उच्च बिएमआई भएका बच्चाहरूमा मस्तिष्कको बाहिरी भाग ढाक्ने तह (सेरेब्रल कर्टेक्स) पातलो हुन्छ ।
सेरेब्रल कर्टेक्स पातलो भएका कारण, सोच्ने, सम्झनेलगायतका दिमागको क्षमताहरू नराम्ररी प्रभावित हुन्छन् । जसकारण उनीहरूको स्मरण शक्ति कमजोर हुन्छ । बच्चाहरूलाई व्यायाम गर्ने चाहना जगाउनु पर्ने जेनिफर बताउँछिन् ।मोटोपनाले अन्य रोग निम्त्याउने मात्र नभइ सोच्ने क्षमतालाई पनि असर पार्ने हुँदा व्यायामका साथै बच्चाहरूको खानामा पनि परिवर्तन गर्नुपर्ने अध्ययनको निष्कर्ष रहेको छ ।